सिक्किममा कर्मचारीलाई एक वर्ष सुत्केरी बिदा, श्रीमान्ले एक महिना पाउने

सिक्किममा कर्मचारीलाई एक वर्ष सुत्केरी बिदा, श्रीमान्ले एक महिना पाउने

एजेन्सी : भारतको सिक्किम सरकारले आफ्ना कर्मचारीलाई १२ महिना तलबसहितको सुत्केरी बिदा दिने भएको छ।

त्यहाँका मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधबार सरकारले यस्तो निर्णय गरेको जानकारी दिए। योसँगै सुत्केरीका श्रीमान्ले समेत एक महिना बिदा पाउने भएका छन्।

मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन (एसएससीएसओए) को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार सीएमले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियमहरूमा परिवर्तन गरिने बताए।

उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ। बाँकी जानकारी छिट्टै सूचित गरिनेछ।’

मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ। सिक्किममा भारतको सबैभन्दा कम ६ लाख ३२ हजार जनसंख्या छ।

साउन ११, २०८० बिहीबार १४:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।