अनुगमनपछि अर्थमन्त्रीले भने : तस्करी गर्नेले नयाँ-नयाँ प्रविधि प्रयोग गर्छन्, हामी पनि अपग्रेड हुनुपर्‍यो

अनुगमनपछि अर्थमन्त्रीले भने : तस्करी गर्नेले नयाँ-नयाँ प्रविधि प्रयोग गर्छन्, हामी पनि अपग्रेड हुनुपर्‍यो

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्।

बिहीबार विमानस्थल अनुगमनपछि मन्त्री महतले आगामी दिनमा कुनै पनि बहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे। 

‘अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ,’ उनले भने।

अनुगमनका क्रममा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के-कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रुपमा कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए। 

‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो। काम कसरी भइरहेको छ भन्ने हेरिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ।’

साउन ११, २०८० बिहीबार १४:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।