भ्रष्टाचार विरुद्ध यो सरकारले अभियान नै चालेको छ : मन्त्री शर्मा

भ्रष्टाचार विरुद्ध यो सरकारले अभियान नै चालेको छ : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन्।

‘टेक-एक्स २०२३’ को उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकी शर्माले भ्रष्टाचार विरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन्।

केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ। 

वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहज परिस्थितिको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको पनि उनले बताइन्।

नेपालमा पनि पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको भन्दै मन्त्री शर्माले सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको बताइन्।

मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको बताइन्।

साथै उनले सङ्घीय निजामती ऐनमा आईटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन्।

साउन ११, २०८० बिहीबार १४:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।