सुन तस्करीकै दिन भन्सार र सुरक्षा प्रमुखहरु बिदा बसेको सेटिङकै लागि हुनसक्छ : एमाले सांसद दाहाल

सुन तस्करीकै दिन भन्सार र सुरक्षा प्रमुखहरु बिदा बसेको सेटिङकै लागि हुनसक्छ : एमाले सांसद दाहाल

काठमाडौं : राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ।

बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए। 

उनले विमानस्थलबाट अवैध सुन बाहिरिएको दिन विमानस्थल भन्सार प्रमुख र विमानस्थलका सुरक्षा प्रमुख पनि बिदामा बसेको पाइएको उल्लेख गर्दै भने, ‘विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेर सेटिङमा लागेको हुनसक्छ।’

उनले भने, ‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र?’

समिति नबने संसद्को काम कारबाही अगाडि बढ्न नसक्नेतर्फ सङ्केत गर्दै उनले भने, ‘त्यसकारण उच्चस्तरीय छानबिन समिति बनोस्, समितिमा सरकार, विभिन्न राजनीतिक दलको सहभागिता होस्।’

संसदीय छानबिन समिति बनाइएको खण्डमा सो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ।​​​​​​ 

राष्ट्रियसभामा एमाले संसदीय दलका नेता दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए।

उनले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए। उनले नेपाल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको समेत बताए।

साउन ११, २०८० बिहीबार १२:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।