नाइजरमा सैनिक विद्रोह : राष्ट्रपति पक्राउ, सबै सरकारी कार्यालयहरू निलम्बन, सीमा बन्द

नाइजरमा सैनिक विद्रोह : राष्ट्रपति पक्राउ, सबै सरकारी कार्यालयहरू निलम्बन, सीमा बन्द

पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोह भएको छ।

केही हतियारधारी सिपाही राष्ट्रपति भवनमा प्रवेश गरी कब्जामा लिएका छन्। यससँगै राष्ट्रपति मोहम्मद बजमलाई सत्ताबाट हटाएर कैद गरिएको छ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार सेनाले राष्ट्रिय टीभीमा विद्रोहको घोषणा गरेको थियो। कर्नेल अमाडो अब्द्रामाने अन्य सैन्य अधिकारीहरूसँग टीभीमा देखिएका थिए। उनले राष्ट्रपतिलाई सत्ताबाट हटाइएको बताएका थिए। 

नाइजरको सीमा बन्द, देशभर कर्फ्यू घोषणा 

कर्णेलले भने, 'बिग्रिएको सुरक्षा अवस्था र कमजोर सुशासनका कारण हामी राष्ट्रपति शासन अन्त्य गर्दैछौँ।' अब्द्रामानेले नाइजरको सिमाना सिल गरिएको बताएका छन्। देशभर कर्फ्यू घोषणा गरिएको छ र सबै सरकारी कार्यालयहरू स्थगन गरिएको छ। 

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपतिलाई सम्भावित सबै सहयोग उपलब्ध गराउने बताएका छन्। यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरेको र राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव राखेको बताएका छन्। 

यद्यपि, नाइजरको सेनाले कुनै पनि विदेशी हस्तक्षेपविरुद्ध चेतावनी दिएको छ र परिणामहरूका लागि तयार रहन भनेको छ।

साउन ११, २०८० बिहीबार १०:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।