महोत्तरीको एनएमबी बैंक लुटपाटमा संलग्नमध्ये एक भारतीय युवक पक्राउ

महोत्तरीको एनएमबी बैंक लुटपाटमा संलग्नमध्ये एक भारतीय युवक पक्राउ

बर्दिबास : महोत्तरीमा बैंक लुटपाटमा संगल्नमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका प्रहरीले जनाएको छ। 

उनलाई बुधवार मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। 

उनीविरुद्ध हातहतियार र चोरी डाका शीर्षकमा मुद्दा चलाइएको छ।

जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको गिरीले बताए।

लुटपाटमा ४-५ जना संलग्न रहेका थिए। उनीहरूले हतियार देखाएर दिनदहाडै बैंक लुटेका थिए। 

डीएसपी गिरीका अनुसार पक्राउ परेका युवकसँग सोधपुछ गरेपछि घटनामा संलग्न अन्यको पहिचान पनि खुलेको छ।प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई निरन्तरता दिएको छ। 

गत जेठ १६ गते महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंकको शाखामा लुटिएको थियो। त्यस क्रममा हतियार देखाएर उनीहरूले १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए।

* हेडलाइनमा एनएमबी बैंक लेख्नुपर्नेमा अन्यथा भएकोले सच्चाइएको

साउन ११, २०८० बिहीबार ०९:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।