म्याग्दीको पदमार्ग पहिराले बगायो
म्याग्दी : धौलागिरि गाउँपालिका-४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिराले बगाएको छ।
नाउराको भीरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिराले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो।
सडक सुविधा नपुगेको सिम्कोश बगर म्याग्दीको विकट र दुर्गम बस्ती हो।
बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पैदलमार्ग पहिरोले बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए। 'बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ', उनले भने, 'बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश बगर गाउँमा आवतजावत बन्द भएको छ।'
पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन्। गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन्। बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गर्ने बताए।
घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटोबाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनले बताए।
धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भीरमा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको काम २०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो। पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए।
साउन ११, २०८० बिहीबार ०८:०८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।