‘हामी शरणार्थी बन्न तयार छैनौँ’

‘हामी शरणार्थी बन्न तयार छैनौँ’

काठमाडौं : ‘हामी शरणार्थी बन्न तयार छैनौँ। जसको हो उसैलाई घर सुम्पिनुपर्यो।’

यो भनाइ लामो समयदेखि प्रयोगविहीन भएको त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा बुधबार जम्मा भएका केही छात्राहरूको हो।

आयोगले अहिले प्रयोग गरेको भवन छात्रावासको लागि भनेर बनाइएको थियो। तर, त्यसमा आयोगको काम भइरहेकोमा अहिले भने आयोग पनि निस्क्रिय छ। यद्यपि छात्राहरू त्यहाँ बस्न पाएका छैनन्।

०७२ को भूकम्पपछि भवन जीर्णावस्थामा भएकाले आयोग छात्रावासमा सारिएको थियो। अहिले छात्रावास बस्दै आएको छात्रावासको पुरानो भवन पनि जीर्ण छ। पानी चुहिरहेको कोठामा बस्न बाध्य छन्।

छात्रावासको पुरानो भवन जीर्ण भएको र आयोग पनि निस्क्रिय रहेको बेलामा स्नातकोत्तर पहिलो सेमेस्टरका छात्राहरूसहितको टोलीले आयोगको सामानहरू बाहिर निकालेर आन्दोलन गरेका हुन्।

‘छात्रा साथीहरू पानी चुहिरहेको कोठामा पढ्न र बस्न बाध्य हुनुहुन्छ। पछिल्लो एक वर्षदेखि सेवा आयोगको प्रमुख पद रिक्त छ। त्रिवि पधादिकारीहरूले न त सेवा आयोगको परिपूर्ति गर्न ध्यान दिएको छ न त छात्रा साथीहरूलाई उचित व्यवस्थापन गरिदिनुभएको छ,’ केन्द्रीय क्याम्पसको स्ववियु कोषाध्यक्ष पद्मा भुषालले भनिन्, ‘हामीले पटक-पटक ज्ञापन पत्र बुझाउँदा बुझाउँदै आजित भएर सांकेतिक रूपमा कुर्ची टेबलहरू रजिष्टार कार्यालयमा लागेका हौँ।’

प्रथम सेमेस्टरमा जम्मा ६५ वटा सिट सीमित भएको कारण अन्य छात्राहरूलाई बस्ने सुविधाको कमी भएको समेत उनले बताइन्। यसबारेमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भन्दा असार मसान्तसम्मको समय मागेका थिए। तर साउन १० गते भइसक्दासमेत व्यवस्थापन नगरेपछि आफैँले सारेको उनको भनाइ छ।

अहिले पहिलो चरण र सांकेतिक रूपमा मात्र आन्दोलन गरेकोले यसलाई छिटो भन्दा छिटो पार नलगाए फेरि चरणवद्ध आन्दोलन गर्ने उनको चेतावनी छ।

‘छात्रावास पुन छात्राहरूकै लागि रहने व्यवस्था मिलाउनुभयो भने हामी यो प्रक्रिया रोक्छौँ,’ उनले भनिन्, ‘हैन भने चरणवद्ध रूपमा हाम्रो आन्दोलन अघि बढ्दै जान्छ।’

साउन १०, २०८० बुधबार २२:४९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।