कारागारमा आमाबुवासँग चामल माग्न पुगेका बालकको नाममा बैंक खाता खुल्यो, एक लाख ५९ हजार जम्मा
सुर्खेत : घरमा चामल सकिएपछि कारागारमा आमाबुवासँग माग्न पुगेका बराहताल गाउँपालिका–५ बड्डीचौर सालघारीका दिदीभाइमध्येका भाइ घनबहादुर विक(निखिल)को नाममा बैंक खाता खुलेको छ।
उनका बुवाको संरक्षकत्वमा ग्लोबल आईएमई बैंक सुर्खेत शाखामा खाता खुलेको हो।
मानव ओसारपोसार र बलात्कार मुद्दामा मतियार भएको भन्दै अदालतले विकका बुवाआमालाई दुई-दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर धरौटी दिन नसकेपछि उनीहरू कारागार चलान भएका हुन्।
घरमा खाने चामल सकिएपछि घनबहादुर र उनकी दिदी कल्पना कारागारमा रहेका बुवाआमासँग चामल माग्न आएका थिए।
त्यहि विषयमा उकेराले ‘घरमा चामल सकिएपछि कारागारमा आमाबुवासँग माग्न पुगेका दिदीभाइ’ शिर्षकमा समाचार लेखेको थियो।
समाचारका आधारमा स्वदेश तथा विदेशबाट सहयोगी दाताले अभियन्ता भीम उपाध्यायको बैंक खातामा एक लाख ३९ हजार एक सय र उकेराकर्मी जगतदल जनाला विकको बैंक खातामा २० हजार रुपैयाँ सहयोग गरेका थिए।
उनीहरूलाई सहयोग गर्न चाहने दाताहरूले कल्पनाका भाई घनबहादुर विकको ग्लाेबल आइएमई बैंक सुर्खेतको खाता नम्बर ०३००७०१०१८५९०५ मा सहयोग गर्न सक्नेछन्।
साउन १०, २०८० बुधबार २०:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।