होटलमा मृत भेटिएका वरिष्ठ सईको कुटेर बेहोस बनाएपछि पर्दाले घाँटी कसेर हत्या

होटलमा मृत भेटिएका वरिष्ठ सईको कुटेर बेहोस बनाएपछि पर्दाले घाँटी कसेर हत्या

काठमाडौं : इलाका प्रहरी कार्यालय भिमगिठे, बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेल मंगलबार विहान मृत भेटिए।

बडिगाड गाउँपालिका–६ स्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा मंगलबार राति दुई बजे मृत भेटिएका उनको अनुसन्धानका लागि प्रहरीले टोली बिहान मात्र पुग्यो।

प्रहरीको टोली पुग्दा मृत पौडेलको शव पर्दाको पासो काटेर भुइँमा झिकेर राखिएको थियो। घटनास्थललाई निगरानीमा राखेको प्रहरीले अनुसन्धान थाल्यो र होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई नियन्त्रणमा लियो।

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आमाछोरा मिलेर वरिष्ठ सई पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

केसीका अनुसार पौडेल मंगलबार राति ८ बजेति होटलमा पुगेका थिए। होटल पुगेका पौडेलको सञ्चालक आशा र उनका छोरा विनोदसँग विवाद भयो।

विवादपछि आमाछोराले पौडेलको टाउकोमा मुक्काले र छातीमा लात्तीले हानेर बेहोस बनाए। बहोस भएर भुइँमा ढलेका पौडेललाई आमाछोरा मिलेर पर्दाको कपडाले घाँटी कसी साढे ११ बजे हत्या गरेको  अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रहरीले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री लुटेर किचेन र्याकमा राखेको अवस्थामा बरामद गरेको छ। पक्राउ परेका दुईविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केसीको भनाइ छ।

साउन १०, २०८० बुधबार १८:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।