फिल्मले ५२० रुपैयाँ कमाएपछि ट्रोल बनेका निर्मल भन्छन्- ‘फिल्म चलेको थाहा पाइनँ’

फिल्मले ५२० रुपैयाँ कमाएपछि ट्रोल बनेका निर्मल भन्छन्- ‘फिल्म चलेको थाहा पाइनँ’

काठमाडौं : चलचित्र विकास बोर्डले गत वर्ष प्रदर्शनमा आउने फिल्मको कमाइ सार्वजनिक गर्यो।

१७ करोडभन्दा धेरै कमाउँदै ‘कबड्डी ४’ सबैभन्दा धेरै कमाउने फिल्म बन्दा सबैभन्दा कम कमाउने फिल्म बन्यो ‘शिवानी’। उसले ५२० रुपैयाँ मात्र कमाएको बोर्डले सार्वजनिक गरेको रेकर्डमा उल्लेख छ।

त्यतिबेला कमाइको विषयमा समाचार बने अनि ट्रोल पनि भए। सोही विषयलाई गत शुक्रबारदेखि पुनः ट्रोल हुन थालेको छ। यसपटक फिल्मलाई लिएर भन्दा पनि कलाकारलाई लिएर ट्रोल भइरहेको छ। फिल्मको गीतमा देखिएका नाम चलेका कलाकार निर्मल शर्मालाई अहिले ट्रोल बनिरहेका छन्।

फिल्मको कमाइ र आफ्नो विषयमा ट्रोल भएपछि उनले फिल्मको कमाइप्रति असन्तुष्टि जनाए। साथै आफू फिल्मको गीतमा मात्र देखिएको भन्दै उनले दुःख गरेर आएका भाइहरूले एउटा गीतमा देखिन आग्रह गरेपछि नकार्न नसनेको बताए।

‘पाँच वर्षअघि काठमाडौंका सडकमा पोस्टर टाँस्ने भाइहरूले निर्माण गरेका थिए,’ उनले भने, ‘मेरो पनि फिल्मको पोस्टर टाँसेर सहयोग गरेका भाइहरू भएकाले एउटा गीतमा अभिनय गर्न आग्रह गरेपछि खेलेको हुँ।’

फिल्मको कमाइ ५२० रुपैयाँ मात्रै भएको विषयमा समेत उनले असन्तुष्टि जनाए।
‘फिल्म बनाउनेको परिवार मात्रै हलमा हेर्न गए भने पनि २ हजार भन्दा बढीको टिकट काट्लान्,’ उनले भने, ‘तर बोर्डले थोरै टिकट काटेको देखाइदियो।’

अहिले फिल्मलाई लिएर ट्रोल बनिरहेका शर्मालाई फिल्म प्रदर्शन समेत कहिले भयो थाहा रहेनछ।

‘मलाई यो फिल्म चलेको पनि थाहा छैन,’  उनले भने, ‘बोर्डले फिल्मको कमाइ सार्वजनिक गरेपछिको हल्लाले मात्रै थाहा पाएँ, तर ट्रोल चाहिँ मेरै विषयमा बनिरहेको रैछ।’

ट्रोल बनेपछि निर्मलले सामाजिक सञ्जालमार्फत आफूहरू सुध्रिन जरुरी रहेको बताएका छन्।

उनी लेखेका छन्, ‘बिडम्वना फिल्म चलेन। हामी प्राय अरुको फिल्म चल्दा दुःखी हुने र नचल्दा खुशी हुने गर्छौँ। आफ्नै सुध्रिनु जरुरी छ।’

साउन १०, २०८० बुधबार १७:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।