लागुऔषध तस्करीमा दोषी ठहरिएकालाई सिङ्गापुरमा मृत्युदण्ड दिइयो, अर्की महिलालाई शुक्रबार झुन्ड्याइने

लागुऔषध तस्करीमा दोषी ठहरिएकालाई सिङ्गापुरमा मृत्युदण्ड दिइयो, अर्की महिलालाई शुक्रबार झुन्ड्याइने

एजेन्सी : मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुसेनलाई मृत्युदण्ड दिएको छ।

कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गतवर्षदेखि पुनः थालिएको छ। यो वर्ष कार्यान्वयन गरिएको यो चौधौँ कठोर सजाय हो।

पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई चङ्गी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागू औषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ।

अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ र एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न गरेको आग्रहको बेवास्ता गर्दै उनको प्राण हरण गरिएको हो।

राष्ट्रपतिसमक्ष गरिएको क्षमा याचनाको अपील पनि अस्वीकार भएपछि उनलाई मृत्युदण्ड दिइएको हो।

यसैगरी, तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ।

सन् २०१८ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।

बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो।

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ। 

कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ।

साउन १०, २०८० बुधबार १६:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।