आज पनि घट्यो नेप्से, कारोबार साढे दुई अर्ब पनि भएन
काठमाडौं : कारोबार हुने साताको चौथो दिन नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको छ।
क वर्गको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स पनि यसदिन २.०५ अंकले घटेर ४०९.११ विन्दुमा ओर्लियो।
उपसूचकहरूमा फाइनान्स, म्युचल फन्ड र अन्यबाहेकका सबै समूह ओरालो लागे। यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.४२ अंकले ओरालो लाग्यो।
बजार घट्दा त्यसको असर कारोबार रकममा पनि देखियो। बुधबार २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुँदा साढे २ अर्बको पनि कारोबार भएन।
यसदिन ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको मात्रै १५ करोडको कारोबार हुँदा दोस्रोमा रहेको शिवम् सिमेन्टको ९ करोड ४९ लाखको कारोबार भयो।
बुधबार ६७ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १४१ कम्पनीको ओरालो लाग्यो र ९ कम्पनीको स्थिर रह्यो। यसअघि आइतबार ६३ अंकले बजार बढ्दा सोमबार र मंगलबार निरन्तर गिरावट आइरहेको छ।
साउन १०, २०८० बुधबार १५:३०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।