सय किलो सुन प्रकरणमा प्रतिपक्षी विभाजित, एमाले राजीनामा माग्ने तयारीमा, रास्वपाले सङ्कल्प प्रस्ताव बुझायो

सय किलो सुन प्रकरणमा प्रतिपक्षी विभाजित, एमाले राजीनामा माग्ने तयारीमा, रास्वपाले सङ्कल्प प्रस्ताव बुझायो

काठमाडौँ : सय किलो सुन तस्करी घटनाको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्मा बखेडा गर्ने तयारी गरिरहेकै बेला अर्को प्रतिपक्षी रास्वपा भने सङ्कल्प प्रस्तावको पक्षमा गएको हो।

रास्वपाको २० जना सांसदले हस्ताक्षर गरेर सभामुखलाई सङ्कल्प प्रस्ताव दिएका हुन्। सङ्कल्प प्रस्तावमा घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ।

गत बुधवार राजश्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिणाम एक साता बित्दा पनि सार्वजनिक भएको छैन। स्कुटरको ब्रेकसुमा राखेर ल्याएको सबै सामानको परिणाम एक सय ५० किलो बढी रहेको बताइएको छ।

सुन तस्करी अन्तर्देशीय अपराधसँगै सङ्गठित अपराध समेत भए पनि राजश्व अनुसन्धान विभागले राजश्व छलीमा मात्र अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा प्रहरी सङ्गठन औपचारिक रूपमा अझैँ संलग्न भएको छैन।

विभागले अनुसन्धानमा सहयोगका लागि प्रहरी कर्मचारी मागेपछि प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पङ्गेनीलाई पठाएको थियो।

साउन १०, २०८० बुधबार १४:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।