गृहमन्त्रीको ‘कोट’ शब्दलाई बहाना बनाएर निहुँ खोज्दै एमाले

गृहमन्त्रीको ‘कोट’ शब्दलाई बहाना बनाएर निहुँ खोज्दै एमाले

काठमाडौं : कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रको नेतृत्वमा बनाएको सरकार असफल भएपछि एमाले नेतृत्व प्रमुख प्रतिपक्षी दलको हैसियतको दुरुपयोग गर्दै निहुँ खोज्न केन्द्रित देखिएको छ।

सरकारले गरेका गलत कामविरुद्ध संसद् लगायतका वैधानिक मञ्चको सदुपयोग भन्दा पनि नेता विशेषको रिस फेर्ने थलो बनाउँदै लगेको छ।

१४ सांसदमाथिको कारबाहीको माग गर्दै ९ महिना संसद् अवरुद्ध बनाएको घटनादेखि किताब विमोचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई बहाना बनाएर संसद् चल्न नदिएको घटनासम्म विषयको गम्भीरता भन्दा पनि एमालेको तुस देखियो। दुवै अवरोध बहाना मात्र थियो भन्ने कुनै उपलब्धिविना नै संसद् खुल्नुले नै पुष्टि गर्छ।

एमालेको सबैभन्दा अर्थहीन संसद् अवरोध बनेको थियो गत वर्ष। एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी बनेपछि उसले त्यसका सांसदहरूलाई कारबाही गर्न संसद् सचिवालयमा दर्ता गरेको पत्रको कार्यान्वयनको माग गर्दै नौ महिना निरन्तर संसद् चल्न दिएनन्।

नौ महिनासम्म अवरोध गरे पनि माधव नेपालसहितका सांसदमाथि कारबाही भएन। एमालेले संसद्को काम लामो समय अवरुद्ध भएको भन्दै अवरोध हटायो।

प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएको भन्दै एमालेले जेठ १२ गते संसद् अवरोध गरेको थियो। तर बीचैमा अवरोध खोल्यो। किन संसद् अवरुद्ध बनाएको अनि किन हटाएको कुनै तर्क देखिएन।

असार १८ गते प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको किताब विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक-पटक दिल्ली गएको भने। त्यसैलाई बहाना बनाएर प्रधानमन्त्रीको राजीनामा माग्दै एक सातासम्म एमालेले संसद् अवरुद्ध बनायो।

प्रधानमन्त्रीले त्यसबारे संसद्मा सम्बोधन गर्ने सहमति भयो। प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरे। एमालेको उपलब्धि त्यही सम्बोधन भयो न कि राजीनामा।

भन्सार कटेर बाहिरिएको सय किलो सुन तस्करी घटनामा एमाले पुन संसद् अवरोध गर्ने रणनीतिमा लागेको छ। यसपटक उसको माग प्रधानमन्त्रीको राजीनामा हैन गृहमन्त्रीप्रति लक्षित देखिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा कुनै टार(बालुवाटार) वा कुनै कोट(बालकोट)को संरक्षण भए पनि अनुसन्धान नरोकिने अभिव्यक्ति दिएका थिए। त्यसैलाई कारण देखाएर सुन तस्करीमा गृहमन्त्री नै संलग्न रहेको आरोप लगाउँदै एमालेले संसद् अवरुद्ध गर्ने रणनीति बनाएको हो।

संसद् अवरुद्धको तितो रेकर्ड
संसद् अवरुद्ध गर्ने मामिलामा एमालेले तीतो रेकर्ड समेत बनाएको छ। २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै एमालेले ५७ दिन संसद् अवरुद्ध गरेको थियो।

लाउडा जहाज प्रकरणमा एमालेले लगातार ५७ दिन संसद् अवरुद्ध बनायो। तर उपलब्धि केही भएन।

साउन १०, २०८० बुधबार १३:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।