निर्मला पन्त घटनामा पीडितलाई न्याय दिन राज्य असफलः एड्भोकेसी फोरम

निर्मला पन्त घटनामा पीडितलाई न्याय दिन राज्य असफलः एड्भोकेसी फोरम

काठमाडौँ : निर्मला पन्तको क्रूर हत्या र बलात्कार घटनामा निष्पक्ष र स्वतन्त्र र तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानूनबमोजिम सजाय दिन एड्भोकेसी फोरम नेपालले माग गरेको छ। 

घटनाको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय नपाएको भन्दै सत्य तथा न्यायको निरन्तर माग गर्ने पीडितको परिवारका सदस्य, मानवअधिकार रक्षक तथा कानूनव्यवसायीहरूसँग फोरमले ऐक्यबद्धतासमेत व्यक्त गरेको छ। 

२०७५ श्रावण १० अपराह्न २ बजेतिर विद्यालयको गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी निर्मला त्यहीँबाट हराएकी थिइन्। त्यसको भोलिपल्ट उनको मृत शरीर उनकै घर नजिकको उखुबारीमा भेटिएको थियो। 

घटनामा गरिएको अनुसन्धान शुरूदेखि नै समस्याग्रस्त थियो किनकि प्रहरीले प्रमाण नष्ट गरी वास्तविक पीडकलाई लुकाउनका लागि दिलिप सिंह विष्ट नामक बौद्धिक अपांगता भएका व्यक्तिमाथि बलात्कार र हत्याको झूटो आरोप लगाएको भनी स्थानीय जनता र अभियन्ताहरूले आरोप लगाएका थिए।

हवलदार चाँदनी साउदले घटनास्थलमा निर्मला पन्तको सुरुवाल पखालेको र प्रहरीले दिलिपसिंह विष्ट तथा अन्य आरोपितहरूसँग साबिती लिनका लागि हिरासतमा यातना दिएको घटनाले अनुसन्धान त्रुटिपूर्ण रहेको उदाहरण प्रस्तुत गरेको थियो।

पीडितको परिवार र स्थानीय जनता आन्दोलनमा उत्रिँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने केही मानिस घाइते भएका थिए। 

राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुसन्धान गरी २०७६ पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।

त्यसमा आयोगले सरकारलाई चार बुँदे सिफारिस र २४ बुँदे निर्देशन दिएको थियो।

आयोगका सिफारिश र निर्देशन अहिलेको मितिसम्म लागू गरिएका छैनन्। निष्पक्ष अनुसन्धान तथा आरोपितहरूको अभियोजनका लागि जनताले माग गरेको भए पनि कुनै पनि सरकारले त्यसलाई पूरा गरेका छैनन्।

प्रहरीबाट प्रमाण नष्ट गरिएको विषयमा निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले दायर गरेको र भाइलाई यातना दिने प्रहरी अधिकृतहरूविरुद्ध खडक सिंह विष्टले दायर गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सबै प्रतिवादीलाई सफाइ दिएको थियो।

एड्भोकेसी फोरम नेपालले २०७८ सालमा प्रकाशन गरेको प्रतिवेदन 'असमर्थ कि अनिच्छुक? निर्मला पन्त अनुसन्धानले उजागर गर्यो प्रहरीको प्रणालीगत कमजोरी' मा पीडितले न्याय पाउँदा बेहोरेको सास्तीको फेहरिस्त प्रस्तुत गरेको छ। 
 

साउन १०, २०८० बुधबार ११:४८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।