सुन तस्करीमा गृहमन्त्रीको हात रहेको एमालेको आरोप, प्रतिनिधिसभा बैठकमा राजीनामा माग्ने

सुन तस्करीमा गृहमन्त्रीको हात रहेको एमालेको आरोप, प्रतिनिधिसभा बैठकमा राजीनामा माग्ने

काठमाडौँ : आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजीको राजीनामा माग्ने तयारी गरेको छ। 

१०० किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको हात रहेको आरोप लगाएको एमालेले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अवरोध गर्न लागेको हो।  

प्रतिनिधिसभा बैठकअघि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको छ।

एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले १२ बजे पार्टीको संसदीय दलको बैठक बस्ने र गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन्। 

३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारे जवाफ माग्न लागेको हो। 

एमाले अध्यक्ष केपी ओलीले हिजो मंगलबार कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भने कसको छ भनी प्रश्न गरेका थिए। 

त्यसक्रममा ओलीले भनेका थिए, 'नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन?’ उनले प्रश्न गरे, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर कसरी जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्रोका बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर। यो अत्यन्त अनैतिक हो।’

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब सय किलो सुन बरामद गरेको थियो। भन्सार जाँचपास भइसकेको अवस्थामा उक्त सुन बरामद भएको थियो। 

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्। तीमध्ये झण्डै आधा भन्सारका कर्मचारी र एजेन्ट छन्। अझै केही व्यक्ति संलग्न रहेको र थप अनुसन्धान गरिरहेको राजस्वले यसैबीचमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको हो।

साउन १०, २०८० बुधबार १०:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।