भारतबाट ५१ करोडको कोदो आयात

भारतबाट ५१ करोडको कोदो आयात

काठमाडौँ : पछिल्लो समय कोदोसमेत भारतबाट आयात हुने गरेको देखिएको छ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ। काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ। 

त्यस्तै भारतबाट ठूलो मात्रामा फर्सी पनि आयात भएको देखिएको छ। ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार रुपैयाँ मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ। 

कोदो र फर्सीमात्र नभएर फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायत वस्तु भारतबाट आयात गर्ने गरिएको छ।

गत आवमा १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ। सोही अवधिमा ३१ करोड ९८ लाख बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए। 

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा,दुई करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, चार करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजारको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्यांक छ।

साउन १०, २०८० बुधबार ०७:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।