निर्वाचन आयोगको लापरबाही, खर्च विवरण बुझाएको उम्मेदवारलाई पनि कारबाही

निर्वाचन आयोगको लापरबाही, खर्च विवरण बुझाएको उम्मेदवारलाई पनि कारबाही

काठमाडौँ : मङ्सिर ४ गतेको निर्वाचनमा तोकिएकै समयमा निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनेलाई समेत निर्वाचन आयोगले कारबाही गर्दै १५ हजार जरिवानाको निर्णय गरेको खुलेको छ।

आयोगले असोज ४ गतेको निर्णय अनुसार तोकिएको मितिमा निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही गरेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको थियो। त्यही सूचीको ६ सय २७ क्रमसङ्ख्यामा काठमाडौँ क्षेत्र नम्बर २ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमको नाम समेत छ।

उकेराले पाएको प्रमाणमा उनले निर्वाचन कार्यालय काठमाडौँको कार्यालयमा मङ्सिर २८ गते नै खर्च विवरण बुझाएको पुष्टि हुन्छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा दर्ता नम्बर १९ मा दर्ता भएको विवरणमा निर्वाचनमा ३ लाख ७१ हजार खर्च भएको उल्लेख छ। खर्च विवरणमा गोष्ठी तथा कार्यकर्ता परिचालन, सवारी साधन/घोडा र सवारी इन्धन तथा दानामा खर्च भएको उल्लेख छ।

खर्च विवरणमा ८० हजार ९ सय ९५ रुपैयाँ गोष्ठी र कार्यकर्ता परिचालन ७८ हजार सवारी साधन/घोडा र ६२ हजार ५  सय  ५ रुपैयाँ  सवारी इन्धन तथा दानामा खर्च भएको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ।

उनले आयोगमा विवरण बुझाउँदाको तस्बिर समेत सार्वजनिक भइसकेको थियो। तर आयोगले निर्वाचन कसुर ऐन अनुसार उनलाई समेत कारबाही गर्ने निर्णय गरेर सूचीमै नाम राख्यो।

गौतमले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम आफ्नो नाम पर्नुपर्ने कुनै कानुनी आधार नभएको भन्दै आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार नाम दुरुपयोग गरेको लेखेकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले तोकिएको मितिमा तोकिएकै निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण बुझाएको उल्लेख गर्दै प्रमाण भने बुधवार सार्वजनिक गर्ने फेसबुकमा लेखेका छन्।

आयोगले मङ्गलवार प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरेको सूची सार्वजनिक गरेको थियो। सूचीमा प्रतिनिधिसभातर्फका एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार ३९८ उम्मेदवारको नाम छ।

साउन ९, २०८० मंगलबार २२:२३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।