छोराकै कारण म आज जीवित छु : माल्भिका सुब्बा
काठमाडौं : टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम सञ्चालनमार्फत चर्चामा आएकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफ्नो दाम्पत्य सम्बन्धबारे सार्वजनिक रूपमा बोलेकी छन्।
निजी जीवनका विषयमा चुपचाप रहने उनले प्रियंका कार्कीको कार्यक्रममा कार्यक्रममा गर्भावस्थादेखि डिभोर्ससम्मका विषयमा खुलेर बोलिन्।
तीन वर्षको प्रेमसम्बन्धपछि २०६९ रियाज श्रेष्ठसँग विवाह गरेकी सुब्बाले गर्भावस्थाबाट श्रीमान् आफूसँग टाढिएको र पर्याप्त साथ नपाएको गुनासो गरिन्।
‘म उहाँको परिवारलाई धेरै सम्मान गर्छु। सासुससुराले मेरो छोरा हुर्काउन एकदमै सपोर्ट पनि गर्नुभएको छ,’ उनले भनिन्, ‘तर, हामीबीच सांस्कृतिक र वैचारिक भिन्नता धेरै थियो। त्यसैले एडजस्ट हुन गाह्रो भयो।’
छोरा जन्मिएको चार महिनासम्म आफूले १६ घण्टासम्म नसुती एक्लै छोरा हेर्नुपरेको बताइन्।
‘पहिलो ६ महिना निकै सकस भयो। ४ महिनासम्म त मैले १६ घन्टा नसुतिकन एक्लै बच्चा हेरेँ,’ उनले अगाडि थपिन्, ‘पहिलो ३ वर्ष उसले राम्रोसँग मसित कम्युनिकेट गर्दैनथ्यो। जहिले पनि झगडा पर्थ्यो।’
सहनै नसक्ने अवस्था आएपछि आफूले घर छाडेर हिँडेको भावुक हुँदै उनले सुनाइन्।
‘असाध्यै सफोकेसन भएपछि म घर छोडेर हिँडे। मेरो त्यो निर्णयमा माइती परिवार पनि सहमत हुनुहुन्थेन। ३–४ वर्षसम्म मैले एक्लै संघर्ष गरेर छोरालाई हुर्काएँ,’ उनले अगाडि भनिन्, ‘परिवारले पनि मलाई बुझेन। बाँच्न पनि मन लाग्दैनथ्यो। आत्महत्याको सोच आइराख्थ्यो। तर, छोराको लागि जसरी पनि बाँच्नुपर्छ भन्ने ठानेँ। वास्तवमा भन्नुपर्दा म छोराकै कारण आज जीवित छु।’
आफूले चलाउने टेलिभिजन कार्यक्रम ‘जीवनसाथी’मा पीडा लुकाएर बोल्नुपरेको भावसमेत उनले व्यक्त गरिन्। उनको एक वर्ष अघि डिभोर्स भएको थियो।
साउन ९, २०८० मंगलबार २०:०२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।