प्रहरीचौकी इञ्चार्ज सई मृत्यु घटनामा होटल सञ्चालक आमाछोरा पक्राउ

प्रहरीचौकी इञ्चार्ज सई मृत्यु घटनामा होटल सञ्चालक आमाछोरा पक्राउ

बागलुङ : होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको हो।

यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ। शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ।

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए। प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ।

प्रहरी उपरीक्षक खड्काले भने, 'प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इञ्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शंकास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ।'

साउन ९, २०८० मंगलबार १८:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।