प्रश्नपत्र प्रकरणमा त्रिविको प्रष्टीकरण : प्राविधिक त्रुटि भएको हो, भारतको इतिहासबारे त्रिविमै पढाइ हुन्छ

प्रश्नपत्र प्रकरणमा त्रिविको प्रष्टीकरण : प्राविधिक त्रुटि भएको हो, भारतको इतिहासबारे त्रिविमै पढाइ हुन्छ
तस्बिर- बायाँ गलत प्रश्नपत्र, दायाँ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बि.ए. तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय’को प्रश्नपत्रमा भएको त्रुटीबारे प्रष्टिकरण दिएको छ।

सोमबार साँझ विज्ञप्ति निकालेर परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्राविधिक त्रुटी भएको स्वीकार गरेका छन्।

उनले ४१० कोड रहेको ‘पर्यटन विकासको परिचय’को प्रश्नपत्रको स्थानमा असार २८ गते सम्पन्न ४२५ कोड नम्बर रहेको ‘आधुनिक भारतको इतिहास’ विषयको प्रश्नपत्र समावेश भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताए।

साथै उनले प्रश्नपत्र बाँडेको आधा घण्टामा नै सबै केन्द्रमा ४१० कोड भएको विषयको प्रश्नपत्र पठाए परीक्षा सुचारु भएकोसमेत जानकारी गराए। परीक्षा केन्द्रमा आएका समस्यालाई परीक्षा समय अवधिभित्रै समाधान गरिसकेको भन्दै उनले यस सम्बन्धमा छानविन गरी यथार्थ विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यालयले आगामी दिनमा यस्ता त्रुटीहरु नदोहेरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै परीक्षा सम्पन्न भइसकेपछि पनि अनावश्यक प्रचार गरी विश्वविद्यालयको गरिमामा आँच पुर्याउने कार्य नगर्नसमेत आग्रह गरेको छ।

‘आधुनिक भारतको इतिहास’ विषयको प्रश्नपत्र ‘पर्यटन विकासको परिचय’मा आएपछि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा त्रिविको चर्को आलोचना भइरहेको छ। कतिपयले त्रिविका प्राध्यापकले भारतको दिल्ली विश्वविद्यालयको प्रश्नपत्र राखेको भनेर ट्रोल गरिरहेका छन्।

यसै विषयलाई लिएर माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले मंगलबार परीक्षा नियन्त्रण कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो। उनीहरूले प्रश्नपत्र निर्माणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका थिए। साथै त्रिभुवन विश्वविद्यालय नेपालको कि भारतको भन्दै प्रश्नसमेत तेर्स्याएका थिए।

साउन ९, २०८० मंगलबार १८:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।