लोकसेवा पुस्तकका लेखक भन्छन्, 'जंगली भालुको प्रवृत्ति र प्रकृतिबारे लेख्दा अन्यथा टाइप भयो'

लोकसेवा पुस्तकका लेखक भन्छन्, 'जंगली भालुको प्रवृत्ति र प्रकृतिबारे लेख्दा अन्यथा टाइप भयो'

काठमाडौं : लोक सेवा परीक्षाको तयारीबारे आफूले लेखेको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितका प्रश्नोत्तरबारे लेखक श्री रामएकवाल दासले स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जाल र माहिला अधिकारवादी संस्थाले चर्को आलोचना गरेपछि दासले पुस्तकमा अन्यथा टाइप भएको बताएका छन्। भालुको प्रवृत्ति र प्रकृति बारेमा बताउन खोजेको अन्यथा भएको भन्दै उनले माफी मागेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो बुक गेमस्काउट सी.गे. वन र वन्यजन्तुमा फोकस भएकोमा जंगली भालुको प्रवृत्ति र प्रकृति बारेमा बताउन खोजेकोमा अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला।’

पुस्तकको आगामी संस्करणमा गल्ती सच्चिएर आउने प्रतिबद्धता व्यक्त गर्दै दासले महिला दिदीबहिनीलाई अपमानित गर्ने आफ्नो मनसाय नभएको उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘कसैलाई अन्यथा परेकोमा म साह्रै दुःखी छु, त्यसको लागि माफी चाहन्छु, मेरो मनसाय केटी वा दिदी बहिनीहरूलाई अपमानित गर्ने पटक्कै होइन, यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी माग्दै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु।’

साउन ९, २०८० मंगलबार १७:४२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।