अवैधानिक बाटो प्रयोग गरी अमेरिका लगिदिने भन्दै एक जनासँग ६० लाखसम्म असुलेको आरोपमा पक्राउ

अवैधानिक बाटो प्रयोग गरी अमेरिका लगिदिने भन्दै एक जनासँग ६० लाखसम्म असुलेको आरोपमा पक्राउ

काठमाडौँ : अवैधानिक बाटो प्रयोग गरी अमेरिका लैजाने आश्वासन दिएर २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पञ्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। 

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरूलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता आपराधिक कार्यमा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरोले बबरमहलबाट पक्राउ गरेको हो। 

तामाङले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँसम्म रकम लिएको प्रहरीले जनाएको छ। 

उनले हालसम्म पीडितहरूबाट २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

तामाङले नेपालबाट अमेरिका लैजाने भनी भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बियालगायत देशहरूमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन ९, २०८० मंगलबार १७:१७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।