गत आर्थिक वर्ष ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात

गत आर्थिक वर्ष ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात

काठमाडौँ : गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ।

भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन्। 

विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजार बराबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ। 

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन्। साथै अन्य उद्योग निर्यातको तयारीमा छन्। गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारततर्फ निर्यात सुरु भएको थियो। साथै असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टि’ ब्राण्डमा पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए। 

सरकारले सिमेन्ट र स्टीललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन्। 

सरकारले गत आर्थिक वर्षको बजेटमा छुटको घोषणा गरेसँगै नेपाली तीन समेन्ट तथा एक स्टील उद्योगले निर्यात गरेका हुन्। 

नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ। नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ।

साउन ९, २०८० मंगलबार १७:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।