अमेरिका लगिदिने भन्दै फिलिपिन्स र थाइल्यान्ड लगेर अलपत्र पारेको अभियोगमा एक जना पक्राउ

अमेरिका लगिदिने भन्दै फिलिपिन्स र थाइल्यान्ड लगेर अलपत्र पारेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : अमेरिका लगिदिने भन्दै फिलिपिन्स, थाइल्यान्ड लगायतका देशमा लगेर अलपत्र पारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई पक्राउ गरिएको हो।

कमल तामाङ समेतले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई हालसम्म पीडितहरूबाट २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन ९, २०८० मंगलबार १४:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।