बागलुङको होटेलमा मृत भेटिए राति गस्तीमा निस्केका वरिष्ठ सई उज्ज्वल पौडेल

बागलुङको होटेलमा मृत भेटिए राति गस्तीमा निस्केका वरिष्ठ सई उज्ज्वल पौडेल

बागलुङ : वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा मृत भेटिएका छन्। सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले अनुसन्धान थालेको छ।

घटनाको जानकारी पाए लगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिंडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो।

इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला परेका हुन्। पौडेलको शव होटलको भुईं तल्लामा भुईंमा लडेको अवस्थामा रहेको खड्काले बताए।

प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरी चौकीले जनाएको छ। राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थाहा भएपछि तत्कालै प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। 

साउन ९, २०८० मंगलबार १२:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।