लगातारको वर्षाले उर्लियो तिनाउ, बाढीमा फसेका दुई जनाको सकुसल उद्धार (९ तस्बिर)

बुटवल : बुटवल, पाल्पा र त्यस आसपास परेको लगातारको वर्षाका कारण तिनाउमा मध्यरातिबाट ठूलो बाढी आएको छ। सोमबार रातिबाट परेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ ।
मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी अझै बढ्न सक्ने आँकलन गर्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। नदीमा आएको बाढीले तिनाउ तटीय क्षेत्र कटान समेत गरेको छ।
पुरानो बुटवलको गणेश मन्दिर नजिकको तिनाउ पुल र देबिनगर पक्की पुलमा तिनाउ उर्लेर करिब करिब पुलको माथिल्लो भागमा बाढीले छुन खोजेको छ।
उता योगीकुटीस्थित मगरघाट पुलको उत्तरतर्फको क्षेत्रमा समेत कटान गरेको छ। कटानको अवलोकन गर्न तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण कटान क्षेत्रमा पुगेका छन्।
यसैबीच बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ।
बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ।
बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई पनि स्थानीयले उद्धार गरेका छन्।
यता बुटवल उपमहानगरले नदी किनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाएको जनाएको छ। नदि किनार क्षेत्रमा नगर प्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले बताए।
साउन ९, २०८० मंगलबार १२:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।