कान्तिपुरमा श्रम विवाद चर्किँदै, पत्रकार महासङ्घ पनि मैदानमा

कान्तिपुरमा श्रम विवाद चर्किँदै, पत्रकार महासङ्घ पनि मैदानमा

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपले कानुनविपरित सञ्चारकर्मी निष्कासन गरेको भन्दै नेपाल पत्रकार महासङ्घले आन्दोलनको चेतावनी दिएको छ।

महासङ्घले विज्ञप्तिमार्फत  संस्थामा देखिएको श्रम समस्या समाधानका लागि आग्रह गरे पनि पत्रकार कर्मचारी तथा कामदारलाई विभिन्न बहानामा संस्थाबाट बिदा गर्ने प्रयास गरिएको गुनासो महासङ्घमा प्राप्त भएको उल्लेख गरेको छ।

पत्रकारले समयमै पारिश्रमिक नपाउने, लामो समय काम गरेर संस्थालाई योगदान गरेका पत्रकारलाई जबरजस्ती हट्न बाध्य बनाउने, स्थायी पत्रकार तथा कर्मचारीलाई अस्थायी / करारमा रूपान्तरण गर्ने, सरुवा गर्नेलगायतका काम विद्यमान कानुनी व्यवस्था विरोधी काम भएको महासङ्घले ठहर गरेको छ।

श्रमजीवी पत्रकार ऐन र प्रचलित कानुन सर्वोच्च अदालतसमेतको आदेशअनुसारका सेवा सुविधा तत्काल उपलब्ध गराउन व्यवस्थापन पक्षसँग आग्रह गर्दै महासङ्घले
अन्यथा अन्यायमा परेका श्रमजीवी पत्रकारलाई निःशुल्क कानुनी उपचार उपलब्ध गराउन र दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।

श्रमजीवी पत्रकार ऐन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि हाल भइरहेको आन्दोलनका क्रममा पत्रिका वितरणसमेत प्रभावित भइरहेकोले वार्ता र संवादको प्रक्रियाबाट तत्काल समस्या समाधानका लागि महासङ्घले कान्तिपुर मिडिया ग्रुपको ध्यानाकर्षण गराएको छ।

आर्थिक सङ्कट देखाउँदै पछिल्लो समय कान्तिपुरले समाचार कक्षदेखि वितरणसम्मका कर्मचारीलाई जबरजस्ती निष्कासन गर्न थालेको भन्दै कर्मचारी आन्दोलनमा छन्।

आन्दोलनका कारण आइतबार र सोमबार काठमाडौँसहित केही क्षेत्रमा पत्रिका वितरण समेत हुन सकेन।

पछिल्लो समय कान्तिपुरले कर्मचारीलाई निष्कासन गरेको, स्पष्टीकरण सोधेको पत्रहरू सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका छन्।

आन्दोलनरत कर्मचारीले श्रम कानुन अनुसार प्रक्रिया अगाडि नबढाई गैर कानुनी रूपमा अवकाश दिने प्रयास गरेको आरोप लगाउँदै आएका छन्।

महासङ्घ स्रोतका अनुसार स्थायी भइसकेका पत्रकारलाई करारमा बस्न दबाब दिने, नमाने कार्यक्षेत्र बाहिर सरुवा गर्ने, नियोजित रूपमा पारिश्रमिक रोकेको लगायतका गुनासोहरू आएका छन्। आन्दोलन चर्किदैजाँदा पनि महासङ्घ मौन बसेको भन्दै आलोचना बढिरहेको बेला सोमबार विज्ञप्ति आएको हो।

साउन ८, २०८० सोमबार २३:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।