सुरेशको गीतमा प्रतिबन्ध लगाएका रेडियो प्रसारक भन्छन्- रोयल्टी संकलक समाजलाई रोयल्टी बुझाउँदैनौं

सुरेशको गीतमा प्रतिबन्ध लगाएका रेडियो प्रसारक भन्छन्- रोयल्टी संकलक समाजलाई रोयल्टी बुझाउँदैनौं

काठमाडौं : संगीतकार तथा रोयल्टी संकलक समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनामा प्रतिबन्ध घोषणा गरेका रेडियो प्रसारकहरूले समाजलाई रोयल्टी नबुझाउने चेतावनी दिएका छन्।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले रोयल्टी वितरणमा पारदर्शिताको माग गर्दै समाजलाई रोयल्टी नबुझाउने चेतावनी दिएका हुन्।

‘२०७५/७६ देखि एफएम रेडियोहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि हामीले बुझाएको रोयल्टीको वितरण पारदर्शी र वैज्ञानिक हुनुपर्छ,’ अकोराबका अध्यक्ष अर्जुन गिरीले भने, ‘गैरसरकारी संस्थाको सदस्य भएका स्रष्टाहरूलाई मात्र रोयल्टी उपलब्ध गराउँदै आइएकाले देशभरका हजारौं स्रष्टा र सिर्जनाको अवमूल्यन भयो।’

रोयल्टी पारदर्शी नहुन्जेल गैरसरकारी संस्थालाई संगीत बजाए बापतको रोयल्टी नबुझाउने उनको तर्क छ। देशभरका रेडियोहरू रोयल्टी तिर्न तयार भए पनि त्यसको वितरणमा राज्यको उपस्थिति अनिवार्य गर्नुपर्ने उनको माग छ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईले विगतमा भएका सहमति कार्यान्वयन नभएको र रोयल्टी वितरणमा केही सीमित व्यक्तिको हालीमुहाली रहेको आरोप लगाए। उनले यस्तो हाली मुहालीकाबीच अहिलेकै अवस्थामा रेडियोले रोयल्टी नतिर्ने बताए।

देशभर हजारौं स्रष्टा रहेकोमा १९०० स्रष्टालाई मात्र रोयल्टी वितरण गरिनु मान्य नहुने उनको भनाइ छ।

रेडियो ब्रोडकास्टर्स फोरमका अध्यक्ष आरके श्रेष्ठले रोयल्टी वितरणमा सिन्डिकेट रहेको र यो नतोडिएसम्म आफूहरूले रोयल्टी नबुझाउने चेतावनी दिए। उनले तीनवटै संस्थाले एक गैरसरकारी संस्थालाई रोयल्टी बुझाउन लगाउने र त्यसलाई रेडियोको नवीकरणसँग जोड्ने अवैधानिक काम राज्यले गरेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले केही व्यक्तिले रेडियो सञ्चालकलाई आपत्तिजनक शब्दमा गाली गलौच गर्नुका साथै रेडियो स्टेसन नै बन्द गराइदिने जस्ता धम्की दिएकोमा आपत्ति जनाउँदै यस्ता गतिविधि तत्काल सच्याउन माग गरेका छन्।

रोयल्टी संकलक समाजका अध्यक्ष सुरेश कुमार अधिकारीले रेडियोमा गीत बजाए बापत रोयल्टी नदिए रेडियोलाई गीत बजाउन नदिने चेतावनी दिएपछि रेडियो प्रसारक र समाजबीचको द्वन्द्व चर्किएको अवस्था छ।

सुरेशको चेतावनीपछि अकोराब, बान र आरबीएफले देशभरका रेडियोमा सुरेशको गीत बजाउन प्रतिबन्ध लगाएका थिए। त्यसपछि भने उनीहरूबीचको द्वन्द्व उत्कर्षमा पुगेको हो।

साउन ८, २०८० सोमबार १९:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।