एक वर्षपछि सकियो बल्छी धुर्बे र काली बुढीबीचको मनमुटाव
काठमाडौं : हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य सिरियल ‘हल्का रमाइलो’का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र शारदा गिरी (काली बुढी)को मनमुटाव सकिएको छ।
गत बिहीबार सिरियलको सुटिङमा फर्किएर शारदा गिरीले काम गरेसँगै उनीहरुबीच एक वर्षदेखि जारी मनमुटाव सकिएको हो।
कोरोनाको समयमा बल्छी धुर्बेले आफूलाई सिरियलमा नबोलाई अरुलाई खेलाएको भन्दै गिरी रुष्ट बनेकी थिइन्।
आफूले बनाएको सिरियल बल्छीले सामाजिक सञ्जामार्फत सेयर नगरिदिएको भन्दै उनले अबदेखि ‘हल्का रमाइलो’मा नखेल्ने भनेर अन्तरवार्तासमेत दिएकी थिइन्।
बल्छीकै कारण आफूले हातमा आएका ६ वटा सिरियलमा काम नगरेकोसमेत उनको दाबी थियो।
बल्छीले भने गिरीसँग कुनै मनमुटाव नभएको भन्दै सामान्य कुरामा आमा रिसाएको बताएका थिए।
आमाछोराको भुमिका निर्वाह गर्दै आएका बल्छी र गिरी ‘हल्का रमाइलो’को १८८औं भागमा फर्किएसँगै उनीहरूबीचको मनमुटाव सकिएको हो।
बल्छी र गिरीले आफूहरू मिलेको भन्दै आइतबार साँझ टिकटक लाइभमार्फत फ्यानहरूलाई जानकारी गराएका थिए।
सोमबार उकेराकर्मीसँगको कुराकानीमा बल्छी धुर्बेले गिरी र आफूबीच भएको असझदारी सकिएको बताउँदै अब नियमित सिरियलमा आउने बताए।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको अभियोगमा प्रहरीले एक महिनाअघि बल्छी धुर्बे सहितका कलाकारलाई पक्राउ गरेपछि सिरियल रोकिएको थियो।
गत साता धरौटीमा छुटेपछि उनीहरूले नयाँ एपिसोडसहित आइतबारबाट दर्शकमाझ आएका हुन्। एक महिना हिरासतमा बसेको घटनालाई सिरियलको कथा बनाइएको छ।
बल्छी र राजु पौडेल अभिनित तथा निर्देशित सिरियल अर्को ‘जुठे’ सिरियल भने दर्शकमाझ आउन अझै केहि साता लाग्ने बल्छी धुर्बेले बताए। लमजुङमा सुटिङ गर्नुपर्ने भएको हुनाले अझै केहि समय लाग्ने उनको भनाइ छ।
साउन ८, २०८० सोमबार १८:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।