निलम्बित डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस

निलम्बित डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस

बुटवल : व्यापारीसँग घुस रकम लिएको आरोप लागेपछि निलम्बित तत्कालीन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो।

डिएसपी केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। अनुसन्धानकै क्रममा गृह मन्त्रालयले १४ पुस २०७९ मा निलम्बन गरेको थियो।

निलम्बन भएको ६ महिनाभित्र मुद्दाको टुङ्गो लगाउनुपर्ने वा जागिरबाट निकाल्नुपर्ने कानूनी व्यवस्था भएका कारण केसीलाई बर्खास्तका लागि सिफारिस गरिएको बताइएको छ।

सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो।

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए। केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो।

साउन ८, २०८० सोमबार १८:२३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।