कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासले गर्ने

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासले गर्ने

काठमाडौं : कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको हो। उक्त रिटमाथि  पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ।

‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्नु,’ इजलासद्वारा जारी आदेशमा भनिएको छ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

साउन ८, २०८० सोमबार १७:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।