मामाघरमा बस्ने दाङका १६ वर्षीय किशोरको सर्पको डसाइबाट ज्यान गयो

मामाघरमा बस्ने दाङका १६ वर्षीय किशोरको सर्पको डसाइबाट ज्यान गयो

दाङ : दाङमा सर्पले डसेर १६ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका मनोज वली रहेका छन्। 

गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। 

त्यस्तै, गत शुक्रबार शान्तिनगर–३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको पनि सर्पको टोकाइबाट मृत्यु भएको थियो।

शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

साउन ८, २०८० सोमबार १५:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।