मौद्रिक नीति ब्याजदर घटाउने खालको छ, अब अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

मौद्रिक नीति ब्याजदर घटाउने खालको छ, अब अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन्। मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्रमा प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ। 

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे। 

‘मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ उनले भने।

मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए।

महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले पुँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिने बताए।

साउन ८, २०८० सोमबार १२:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।