आज साउनको दोस्रो सोमबार : पशुपतिनाथ लगायत देशभरका शिवालयमा भिड

आज साउनको दोस्रो सोमबार : पशुपतिनाथ लगायत देशभरका शिवालयमा भिड

काठमाडौं : साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ।

पशुपतिमा भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको छ।

कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीका अनुसार पशुपति क्षेत्रमा अहिले पनि हजार‌ौं भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन्। 

पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ। बोलबम यात्री शुद्ध जल लिन आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए।
 
साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ।

यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ। जसका कारण साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ।

पशुपति क्षेत्रमा समग्रमा दर्शनार्थीको सङ्ख्या नघटे पनि सोमबारको व्रत बस्ने महिलाको सङ्ख्या भने कम देखिएको महाशाखा प्रमुख पराजुलीले बताए। यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन्।

पशुपतिसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत महादेव मन्दिरमा पनि भक्तजनको भिड लागेको छ। यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ।

साउन ८, २०८० सोमबार ११:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।