टेम्केमैयुङ रिमचिमका स्थानीयले श्रमदान गरेरै बनाए सात किलोमिटर बाटो

टेम्केमैयुङ रिमचिमका स्थानीयले श्रमदान गरेरै बनाए सात किलोमिटर बाटो

भोजपुर : टेम्केमैयुङ गाउँपालिका-१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन्।

वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन्।

स्थानीयले श्रमदान गरी सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन्।

बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए। वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वःस्फूर्त रूपमा सहयोग गरिरहेका उनको भनाइ छ।

'वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ', वडाध्यक्ष राईले भने, 'प्रायः सम्पूर्ण सडक बर्सातले बिग्रिएको अवस्था छ। जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन। स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ। यो अभियान जारी रहन्छ।'

वडाले थालेको कामलाई साथ दिँदै देश विदेशमा रहेका यहाँका स्थानीयले समेत आवश्यक सहयोग गरेका वडासदस्य गणेश राईले बताए। साउन १ गतेबाट सुरु भएको श्रमदान अभियानमा एक सय ५५ जना बढी सहभागी भएका उनले बताए। 

'आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ', उनले भने, 'बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियानमार्फत सडक मर्मत गरेका हौँ। हामीले थालेको अभियानलाई साथ दिँदै देशविदेशमा रहेका यहाँका स्थानीयले पनि केही सहयोग गर्नुभएको छ।'

वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवा श्रमदानमा सक्रिय रूपमा खटेका स्थानीयवासी लगनबहादुर राईले बताए।

श्रमदानमार्फत सडकको नाली कटाउने, खाल्डाखुल्डी पुर्ने, आसपासको झाँडी हटाउनेलगायतका काम भइरहेको स्थानीय युवा रामचन्द्र राईले बताए। सडकको मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै खाद्यान्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ।

युवाको सक्रियतामा भएको श्रमदान अभियानमार्फत सात दिनमा पाँच लाख बढीको काम भएको स्थानीय सीताराम राईले बताए। धेरै ठाउँमा सडक बिग्रेका कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदानमार्फत काम गरिएको उनको भनाइ छ।

साउन ८, २०८० सोमबार १०:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।