कर्णाली प्रदेशका मन्त्रीहरूको सम्पत्ति : कसैका ९ ठाउँमा घँडेरी, कसैका ३० वटा कुखुरा

कर्णाली प्रदेशका मन्त्रीहरूको सम्पत्ति : कसैका ९ ठाउँमा घँडेरी, कसैका ३० वटा कुखुरा

सुर्खेत : कर्णाली प्रदेशका तीन मन्त्रीहरूले नियुक्त भएको ९४ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

गत वैशाख ७ गते नियुक्त कांग्रेसबाट अर्थमन्त्री बनेका वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। 

सम्पत्ति विवरणअनुसार अर्थमन्त्री सिंहको सम्पत्ति बढी देखिएको छ। जाजरकोटको बारेकोट स्थायी घर भएका सिंहसँग सोही वडाको-८ नम्बर वडामा पुख्यौली दुई वटा घर, भेरी नगरपालिका-३ मा साढे तीन तलाको पक्की घर रहेको छ। उक्त घरको स्रोत पुर्ख्यौली नै रहेको उनले उल्लेख गरेका छन्। 

त्यस्तै सिंहको अंश भाग रहेका बारेकोट-८ मै ३ रोपनी र बाँकेको कोहलपुर-६ मा १.५ कट्ठा जमिन रहेको छ। उनले उक्त जग्गा ऋण सापट गरेर जोडेको उल्लेख गरेका छन्। चल सम्पत्तिमा सिंहसँग २० तोला सुन छ भने १५ तोला चाँदी रहेको छ।

उनले सुन विभिन्न स्रोतबाट पाँच लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन् भने चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ। 

यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा दुई लाख रकम मौज्दात रहेको र एनएमबी बैंक सुर्खेतमा सेवा सुविधाबापत एक लाख रुपैयाँ रकम मौज्दात रहेको उल्लेख गरेका छन्।

मन्त्री सिंहले धितो पत्र, शेयर वा ऋणपत्र विवरण शीर्षकमा शेयर लगानी उल्लेख गरेका छन्। 

सिंहले ६० लाख रुपैयाँ पर्ने इसुजु हाइलेण्डर गाडी र ३२ लाख पर्ने बोलेरो पनि रहेको उल्लेख गरेका छन्। यस्तै २ लाख ५ हजार बराबरको स्कुटर पनि राखेका उनले उक्त सम्पत्ति व्यवसायबाट जोडेको उल्लेख गरेका छन्। उनीसँग २ लाख मूल्यका विभिन्न १० वटा मोबाइल पनि रहेका छन्। 

सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले सुर्खेतको सिम्ता- ६ मा पैतृक सम्पत्तिको घर रहेको उल्लेख गरेका छन्।
सिम्तामै उनको विभिन्न ९ ठाउँमा जग्गा रहेका छन्। उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति नै रहेको उल्लेख गरेका छन्।

उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ। सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति र चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। उनीसँग लक्ष्मी बैंक सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ। 

उक्त रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन्। उनले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेको उल्लेख गरेका छन्। साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टीभी २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन्। उनले उक्त सामग्री उपहार र खरिद गरेको उल्लेख गरेका छन्। 

त्यस्तै  उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीसँग दैलेख गुराँस गाउँपालिका-६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर रहेको छ भने वीरेन्द्रनगरमा २ ठाउँमा उनको घर छ। त्यो सबै पुर्ख्यौली सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्। 

बिसीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको उल्लेख छ। उनको नाममा गुराँस गाउँपालिका-६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ। त्यसको स्रोत पनि उनले पैतृक सम्पत्ति नै उल्लेख गरेका छन्। उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ। त्यो पनि पैतृक सम्पत्ति नै हो। उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात छ। उनीसँग त्योभन्दा बढी ऋण रहेको उल्लेख गरेका छन्। 

राष्ट्रिय वाणिज्य बैंकबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ। यस्तै एनएमबी बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए। त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण छ। उनीसँग कुनै सवारी साधन छैन।

साउन ८, २०८० सोमबार ०८:३७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।