सामान्य विवादले निम्तिएको विवाद, बुटवलको कालिकापथमा युवामाथि दिउँसै खुकुरी प्रहार

सामान्य विवादले निम्तिएको विवाद, बुटवलको कालिकापथमा युवामाथि दिउँसै खुकुरी प्रहार

बुटवल : बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ।

बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा ६० वटा लगाइएको छ। 

सामान्य विवादले उग्र रूप लिएपछि खत्रीमाथि ३ युवा जाइलागेका थिए। इलाका प्रहरी कार्यालयका अनुसार खत्रीलाई आक्रमण गरेको आरोपमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले खत्रीमाथि आक्रमण गर्ने अन्य घटनापछि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए। 

पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले बताए। प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट सोमबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ।

दर्जन बढीको समूहमा आएका युवाले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इँटालगायत हतियार प्रयोग गरी खत्रीलाई आक्रमण गरेको पीडित पक्षले आरोप लगाएका छन्। 

किन भयो कुटपिट ? 

कुटपिटमा परेका निर्मल खत्री कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीका छोरा हुन्। यो विवाद कालोपत्रे गर्न ठिक्क पारेको सडकमा ट्रक लैजाने क्रमबाट सुरु हुन्छ। 

कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबीले बिहीबार साँझ निर्माणाधीन कालिकापथअन्तर्गत बुटवल ११ योगीकुटी नजिकै सडक पिच गर्न प्राइमर (कालोपत्रे) लगाएर राखेको अवस्थानमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किन्छ। 

त्यसपछि सञ्चालक डिबीले कादरीसँग क्षतिपूर्ति माग राख्छन्। अर्को दिन (शुक्रबार) पैसा दिने सहमति भए पनि शुक्रबार कदरीले पैसा दिनुको सट्टा डिबीसँग भनाभनमा उत्रिन्छन्। पैसा दिनुको डिबीसँग उनी निहुँ खोज्न थाल्छन्।

डिबीले शुक्रबार निर्मललाई कादरीकोमा पैसा लिन मानिस पठाउँछन्। तर कादरीले निर्मललाई पैसा दिनुको सट्टा थर्काउने योजनामा लाग्छन्। सोही योजना अनुसार शुक्रबार बिहान कादरीसँगै सरोज शेरचन, किशन र गणेश भन्ने लोक बहादुर कुँवर जम्मा भएका हुन्छन्।

उनीहरूले जम्मा भएर व्यवसायी निर्मललाई धम्क्याउँदै पैसा नदिने बताउँछन्। 

त्यसपछि निर्मलले पैसा नदिएर केटाहरू लिएर कुट्न आएको भन्दै सवाल जवाफ गर्छन्। सामान्य हातहातल पनि त्यही बेला हुन्छ। त्यसपछि कादरीको समूह त्यहाँबाट जान्छ। 

झगडा भएको विषय निर्मल खत्रीले साथीहरू सुमन गुरुङ, सुमन बस्याल, झविन गौतमलाई फोनमार्फत बताउँछन्। अनि उनीहरू निर्मललाई भेट्न योगीकुटी आइपुग्छन्। 

उनीहरूले छलफलबाटै घटना साम्य गर्न भन्दै मिलनचोकतर्फ जाँदै गर्दा कादरीको समूहले निर्मलको टिमलाई बीच बाटोमै मोटरसाइकलले बाटो छेक्छन्। कोदरीको समूह निर्मलमाथि जाइलाग्छन्। 

त्यतिकैमा बच्न भागेका निर्मललाई स्थानीय केही युवाले नजिकैको किराना पसलको सटरमा बन्द गरेर सुरक्षित राख्छन्।

संयोगवश एम्बुलेन्स आउँदा कुटपिट गर्ने कादरीको समूह प्रहरी आएको भन्दै तितरवितर हुन्छन्। त्यसपछि निर्मललाई तिलोत्तमाको क्रिमशन अस्पतालमा लगिन्छ। 

हाल खत्री अस्पतालबाट घर आएका छन्। अहिले पनि अस्पतालमा उनी फलोअपका लागि जाने गरेका छन्। 

सुरक्षामाथि प्रश्न, त्रसित बन्दै नागरिक

कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। अहिले पनि कालिकापथमा खासगरी रात्रीकालीन व्यवसाय जम्ने गर्दछ। तर दिउँसै युवामाथि सडकमा खुलमखुला खुकुरी प्रहार भएपछि सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ। 

रात्रीकालीन बजार चलेकै अवस्थामा युवाबीच हानहान भइरहेको कालिकापथमा दिउँसो पनि युवा समूहले खुकुरी प्रहार गर्नुले बुटवलको सुरक्षा व्यवस्थाप्रति सबैले प्रश्न उठाएका छन्। 

दिउँसै खुकुरी नचाउँदै सडकमा हानहान गर्नुले बुटवलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय हरि अर्यालले बताए। नागरिकमा त्रास पैदा गरेको भन्दै सुरक्षाको प्रत्याभूति दिन उनले प्रहरी गम्भीर भएर लाग्नुपर्ने बताए। 

साउन ७, २०८० आइतबार २२:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।