लाइभ बैठकमा कांग्रेस नेताको रमिता : बालकृष्णलाई राज्यले फसायो भन्दै छानबिनको माग गरे

लाइभ बैठकमा कांग्रेस नेताको रमिता : बालकृष्णलाई राज्यले फसायो भन्दै छानबिनको माग गरे

काठमाडौँ : नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको लाइभ बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाबारे भन्दा पुर्पक्षका लागि कारागारमा रहेका नेता बालकृष्ण खाँणको चिन्तामा देखिए नेताहरू।

साउन २ देखि जारी रहेको बैठक सात गतेसम्म आइपुग्दा पनि कांग्रेसको केन्द्रीय नेताहरू खाँणकै चिन्तामा देखिए। बैठकमा बोल्ने अधिकांशको मत नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जस्तो गम्भीर अपराधको हैन खाँणलाई किन पार्टीले जोगाउन सकेन भन्नेमा बढी मन्थन देखियो।

पार्टीका अनुभवी नेता गोपालमान श्रेष्ठले त खाँणलाई पार्टीले जोगाउन सक्ने ठाउँ हुँदाहुँदै जोगाउन नसकेको भन्दै पार्टी अपराधमा संलग्नको आरोपीलाई अदालती प्रक्रियाबाट हैन पार्टीले हस्तक्षेप गरेर जोगाउनुपर्ने पक्षमा उभिएका थिए। उनी पार्टीको वरिष्ठ नेता हुने प्रतिस्पर्धामा समेत छन्।

छिटपुट रूपमा खाँणलाई निलम्बन गर्नुपर्ने आवाज नउठेको हैन बैठकमा। तर त्यसको प्रतिउत्तरमा बचाउमा आएको स्वरको मात्रा निकै चर्को सुनियो।

केन्द्रीय सदस्य हुँदै आइतबार पदाधिकारीहरूले धारणा राख्ने चरणमा बैठक पुग्यो। अधिकांश पदाधिकारीहरू केन्द्रीय सदस्यहरूभन्दा पनि अगाडि बढेर खाँणको पक्षमा उभिए।

सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष डिनाले खाँणको बचाउ मात्र गरिनन् खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्नेहरूमाथि पार्टीले छानबिन गर्न समेत माग गरिन्।

पार्टीका नेताहरू नै खाँणविरुद्ध लागेको अभियोग प्रमाणित गर्न लागिपरेको आरोप समेत लगाइन् उनले। उनी यतिमै रोकिइनन्। अदालतमा विचाराधीन मुद्दालाई कांग्रेसका केही नेताहरूले दबाब दिएर प्रभावित पार्न खोजेको भन्दै छानबिन गर्नै माग गरिन्।

सहमहामन्त्री महेन्द्र यादवले त खाँणलाई पार्टीका ‘जुझारु नेता भन्दै राज्यले नै फसाएको’ दाबी समेत गरे। उनले बैठकमा राज्यले खाँणप्रति अन्याय गरेकोसम्म तर्क गर्न भ्याए। उनको दाबी अनुसार खाँणविरुद्ध जाहेरी पनि छैन अनि कुनै प्रमाण पनि छैन।

परराष्ट्रमन्त्री समेत रहेका एनपी साउद भने अलि नरम देखिएका थिए। उनले खाँणको सवालमा अदालतको निर्णय पर्खिनुपर्ने बताए। उनी खाँणको निलम्बनको पक्षमा उभिएनन्। हतार गर्दा पार्टीलाई क्षति हुन्छ भन्दै बचाउकै पक्षमा उभिए।

यस अगाडिको बैठकमा बोलेका केन्द्रीय सदस्यहरू समेत खाँणको निलम्बनको मात्रै हैन कारबाहीकै विपक्षमा उभिएका थिए। आफ्नो दलको नेता पक्राउ पर्दा पार्टीकै नेताहरूले गृहमन्त्री भेटेर बधाई दिएको भन्दै आलोचना मात्र गरेनन् उनीहरूले त खाँणको पक्षमा पार्टीपङती लाग्नुपर्ने तर्क समेत गरेका थिए।

साउन ७, २०८० आइतबार २२:१५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।