सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको पाइए ब्याजसमेत असुल गरिनेछ : गभर्नर अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको पाइएमा त्यसको ब्याजसमेत असुल उपर गरिने बताएका छन्।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज आयोजित पत्रकार सम्मेलनमा सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा गभर्नर अधिकारीले उक्त जानकारी दिएका हुन्।
‘सहुलियतपूर्ण कर्जा दुरुपयोग मात्रै भएको छैन, सदुपयोग पनि भएको छ। त्यसबारे स्वतन्त्ररुपमा अध्ययन भइरहेको छ। यही साउनको अन्तिमसम्ममा त्यसको प्रतिवेदन आइसक्नेछ। सोही प्रतिवेदनका आधारमा हामी अगाडि बढ्छौ,’ उनले भने, ‘त्यस्तो कर्जा दुरुपयोग भएको पाइए ब्याजसमेत असुल उपर गरिनेछ।’
गभर्नर अधिकारीले रु ५० लाखसम्मको शेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागिएको समेत जानकारी दिए।
यसअघि रु २५ लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको जोखिम भार एक सय ५० प्रतिशत रहेकोमा उक्त व्यवस्था पुनरावलोकन गर्न लागिएको उनले बताए।
अधिकारीले नेपालबाट बाहिरिने विप्रेषणबारेमा पनि केन्द्रीय बैंकले नियमित रुपमा अध्ययन नगरे पनि सुक्ष्म निगरानी भने गरिरहेको उल्लेख गरे। त्यसका लागि अन्य निकायसँगको सहकार्य तथा ‘नेशनल स्वीच’ कार्यान्वयनमा ल्याइ यर्थाथ विवरण पत्ता लगाइने उनको भनाइ छ।
साउन ७, २०८० आइतबार १७:३७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।