मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घट्यो, बैंकदर यथावत् (पूर्णपाठसहित)

मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घट्यो, बैंकदर यथावत् (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक गरिएको मौद्रिक नीति अनुसार बैंकदर यथावत राखिएको छ भने नीतिगत दर घटाइएको छ। राष्ट्र बैंकले बै‌ंकहरुलाई कर्जा प्रवाह गर्दा लिने बैंकदरलाई ७.५ प्रतिशतमा यथावतै राखेको हो।

हाल ७ प्रतिशतमा रहेको नीतिगत दर भने घटाएर ६.५ प्रतिशत कायम गरिएको छ। नीतिगत दर घटेपछि बैंकहरुलाई ब्याज घटाउन दबाव पर्न जाने अनुमान गरिएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल दरलाई भने ५.५ बाट प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ। साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखेको छ।

‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधारबिन्दुले घटाइ ६.५ प्रतिशत कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘बैंकदरलाई साढे सात प्रतिशतमा यथावतै राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।’

राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने जनाएको छ।

त्यस्तै, बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने जनाएको छ।

साउन ७, २०८० आइतबार १३:५८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।