लम्पी स्किनले गोरु मरे, रोपाइँ भएन

लम्पी स्किनले गोरु मरे, रोपाइँ भएन

भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। समयमा पानी नपरेसँगै लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्लामा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताए। उनका अनुसार गतवर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्थ्यो। 

कृषक कुमार खड्काले समयमा वर्षा नहुँदा र लम्पी स्किन रोगबाट गोरु मरेपछि रोपाइँ गर्न ढिला भएको बताए।

जिल्लामा पछिल्लो समयमा हाते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धान रोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ। 

साउन ७, २०८० आइतबार ११:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।