साल्ट ट्रेडिङले भन्योः जुम्लामा नुन अभाव छैन, १७ सय क्विन्टल मौज्दात छ

साल्ट ट्रेडिङले भन्योः जुम्लामा नुन अभाव छैन, १७ सय क्विन्टल मौज्दात छ

खलंगा : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको डिपोमा पर्याप्त नुन मौज्दात रहेको जनाएको छ। 

डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। 

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख  प्रमुख मल्लले भने, 'जिल्लामा नुनको अभाव हुने छैन। अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने  छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ।'

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा भाडँभैलो मच्चिएको थियो। 

गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा  सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए। 
 
तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए।

वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला-१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिए।

साउन ७, २०८० आइतबार १०:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।