सीटीईभीटीले बढाएको ३४ प्रतिशत शुल्क तत्काल कार्यान्वयन नगर्ने

सीटीईभीटीले बढाएको ३४ प्रतिशत शुल्क तत्काल कार्यान्वयन नगर्ने

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सामायोजन गरिएको शुल्क तत्काल कार्यान्वयन नगर्ने भएको छ।

विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क  तत्काल कार्यान्वयन नगर्ने भएको हो।

परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए।

‘परिषद् कार्यालयस्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजनसम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय स्थगन गरिएको छ’, परिषद्ले भनेको छ।

परिषद्ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा ३४ प्रतिशत शुल्क वृद्धि गरेको थियो।

वृद्धि गरिएको शुल्कमा नर्सिङको छ लाख २४ हजार दुई सय ३० रुपैयाँ, सामान्य चिकित्सा पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ र फार्मेसी चार लाख २३ हजार छ सय ५० रुपैयाँ तोकिएको थियो। शुल्क वृद्धि गरेपछि विद्यार्थी सङ्गठन आन्दोलन गरेका थिए।

परिषद्ले विभिन्न समयमा गठित शुल्क समायोजनसम्बन्धी कार्यटोलीको सुझाव र परिषद्को कार्यालयको निर्णयानुसार यही असार २९ गते तीन विषयमा शुल्क बढाउने निर्णय गरेको थियो ।

साउन ६, २०८० शनिबार २१:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।