पार्टीभित्र न्यायोचित व्यवस्थापन मिलाउन नसक्दा केही स्वर्णिम वाग्लेहरू बाहिरिए : उपसभापति गुरुङ

पार्टीभित्र न्यायोचित व्यवस्थापन मिलाउन नसक्दा केही स्वर्णिम वाग्लेहरू बाहिरिए : उपसभापति गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र न्यायोचित व्यवस्थापन मिलाउन नसक्दा स्वर्णिम वाग्ले बाहिरिएको बताएका छन्।

एक टेलिभिजन अन्तरवार्तामा पार्टीका कानून न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका उपसभापति गुरुङले यस्तो बताएका हुन्।

‘न्यायोचित वितरणको विषय हामीले पार्टीभित्र बारम्बार उठाउँदै आएको विषय हो,’ उनले भने, ‘यहि न्यायोचित व्यवस्थापन गर्न नसक्दा केही स्वर्णिम वाग्लेहरू बाहिरिएका हुन् भन्ने मेरो ठहर छ।’

स्वर्णिम वाग्ले लगायतका केही नेताहरू बाहिरिँदा आफूहरूले पाठ पनि सिकेको भन्दै उपसभापति गुरुङले यहि ढंगले अघि बढिरहँदा पार्टीमा ठूलो नोक्सानी हुने उनको भनाइ छ।

‘यसले हामीलाई पाठ पनि सिकाको छ, यहि ढंगबाट फेरि पनि हिँडिरहने र को–को बाहिरिएका छन्, त्यसतर्फ ध्यान नजाने हो भने पार्टीमा ठूलो हानीनोक्सानी व्यहोर्नुपर्छ,’ उनले थपे, ‘त्यहि भएर हामीले परिवर्तित भएरै हिँड्नुपछ, आलोचनात्मक ढंगबाट उठाएका कुराहरुलाई पनि हामीले स्वीकार गर्न सक्नुपर्छ।’

वीपी कोइरालाले स्थापित गरेको पार्टीले वीपीको सिद्धान्त पूरै त्यागेको भन्ने स्वर्णिम वाग्लेको आरोपमा आंशिक सत्य भएको उपसभापति गुरुङले स्वीकारे। उनले पार्टीभित्र धेरै कमीकमजोरी रहेको स्वीकार्दै त्यसलाई सच्याउने दिशामा आफूहरू अग्रसर रहेको बताए।

नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी सांसद बनेका डा. स्वर्णिम वाग्लेले केहीदिनअघि एक टेलिभिजन कार्यक्रममा कांग्रेसले वीपी कोइरालको सिद्धान्त छाडिसकेको आरोप लगाएका थिए। साथै उनले पार्टी नेतृत्वले आफ्नो नामै सुन्न नचाहनेसम्मको स्थिति भएपछि कांग्रेस छाडेको बताएका थिए।

साउन ६, २०८० शनिबार १७:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।