धुलिखेल-बर्दिबास सडक विस्तारको तयारी हुँदैछ, जापान भ्रमणपछि टुंगो लाग्छ : यातायातमन्त्री ज्वाला

धुलिखेल-बर्दिबास सडक विस्तारको तयारी हुँदैछ, जापान भ्रमणपछि टुंगो लाग्छ : यातायातमन्त्री ज्वाला

काभ्रेपलाञ्चोक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार धुलिखेलदेखि बर्दिबाससम्मको सडकलाई विस्तार गर्ने तयारीमा लागेको बताएका छन्। 

काभ्रेपलाञ्चोकको पनौतीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सडकको क्षमताभन्दा बढी भार भएका सवारीसाधन गुडाएर सडकको क्षति गराइ अस्तव्यस्त गराउने अवस्थालाई न्यूनीकरण गर्न तौल पुल प्रयोगमा ल्याउने व्यवस्था मिलाइने पनि बताए।

‘धुलिखेलदेखि बर्दिबाससम्मको सडकलाई विस्तार गर्ने तयारीमा सरकार रहेको छ। अब छिट्टै हुन लागेको मेरो जापान भ्रमणले त्यसको टुङ्गो लाग्नेछ,’ उनले भने।

उनले सूर्यविनायक-धुलिखेल सडकखण्डका लागि अहिले भएको बजेटबाट काम सञ्चालन भइरहने र अवरोध नहुने गरी रकमान्तर गरेर भए पनि बजेटको व्यवस्थापन गरेर कामलाई टुङ्गोमा पुर्याइने बताए। 

उनले नेपालको पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने पनि उल्लेख गरे। आफू मन्त्री हुने बित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले यसको प्रक्रिया छिट्टै अगाडि बढाउने उनले बताए।

अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले तयारी गरिरहेको उनले जानकारी दिए। 

‘सडक सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ। त्यसमा गम्भीरतापूर्वक काम गर्न लागिरहेको छु,’ उनले भने।

मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको जानकारी गराए।

साउन ६, २०८० शनिबार १६:३९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।