सडकमा थुप्रिएको फोहर एक दुई दिनमै उठ्छ : काठमाडौं महानगर

सडकमा थुप्रिएको फोहर एक दुई दिनमै उठ्छ : काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ।

केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि शुक्रबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए।

उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ। 

शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहर एक दुई दिन भित्रै उठाइसक्ने उनको भनाइ छ।

नुवाकोट सिसडोलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए।

फोहर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइटसम्म पुर्याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए।

साउन ६, २०८० शनिबार १६:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।