यस वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट पुर्याइन्छ : मन्त्री शर्मा

यस वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट पुर्याइन्छ : मन्त्री शर्मा

सिमरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने बताएकी छन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री शर्माले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउने बताएकी हुन्।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्याउने गरी तयारी गरिएको उनले बताइन्।

आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको स्मरण गराउँदै मन्त्री शर्माले निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन्।

चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चायुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरिन्।

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन्।

जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिइन्।

साउन ६, २०८० शनिबार १५:५५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।