यो वर्ष मनसुन कमजोर, गत वर्षभन्दा २० प्रतिशत कम रोपाइँ

यो वर्ष मनसुन कमजोर, गत वर्षभन्दा २० प्रतिशत कम रोपाइँ

काठमाडौं: यस वर्षको वर्षा याममा कम पानी परेकाले देशभर धान रोप्न समस्या भएको छ। पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन।

केही भेगमा वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा यो वर्ष धान रोपाइँ प्रभावित हुने देखिएको छ। कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ भएको छ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ।

विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यही कारणले तुलनात्मक रुपमा कम वर्षा भएको हो।  

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुँदैन। यस वर्ष मनसुन सरदरभन्दा केही कमजोर देखिएको उनले बताए।

साउन ६, २०८० शनिबार १४:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।